13/09/2018
भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बेंसीकी ५५ वर्षीया ललितमाया गुरुङको शव बिहीबार बिहान प्रहरीले घटनास्थलबाट निकालेको हो ।
सोही स्थानमा बुधबार हराएका मर्स्याङ्दी गाउँपालिका ४, नासकुचेका अन्दाजी ५५ वर्षीय तुलसी भनिने राजु लामा अझै फेला परेका छैनन् । बाख्रा चराउँदै गर्दा बुधबार दिउँसो पहिरो आएपछि भाग्ने क्रममा ढुंगाले लागेर मर्स्याङ्दी ५ घर भई हाल मर्स्याङ्दी ५ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको थियो । पहिरोले पुरिँदा मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरूपा थापा र उनकी ९ वर्षीया नातिनी सिरस थापाको मृत्यु भएको थियो ।
यस्तै, दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका ५ का ३० वर्षीय बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारूको अवस्था अज्ञात छ । उनीहरूलाई मर्स्याङ्दी नदीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिरोमा फसेका र घाइते सबैको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।
उनका अनुसार बेंसीसहरदेखि नै पहिरो गएको ठाउँसम्म सडक अवरुद्ध छ । ‘सुरुमा नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार प्रयास गर्यौं । सबै भिरालो ठाउँ भएकाले पहिले एकजनाको मात्र उद्धार गर्न सक्यौं । पछि सानो हेलिकप्टरमार्फत सबै घाइतेको उद्धार गर्यौं,’ उनले भने ।
मृतक भएकै ठाउँमा डाक्टर पुर्याएर मृतकको पोस्टमार्टम गरिएको छ । पहिरोमा फसेका करिब ३० जनालाई रामबजारको सुरक्षित स्थानमा लगिएको छ । बाढीपहिरोपीडितलाई खाद्यान्नलगायत राहत वितरण गरिएको छ । श्रीजंग गणका गणपति शिखर जबराले हेलिकप्टरमार्फत सबै घाइतेलाई उद्धार गरिएको बताए ।
डीएसपी यादव ढकालका अनुसार पहिरोमा परेर मर्स्याङ्दी गाउँपालिकाका विभिन्न गाउँका १० जना घाइते भएका छन् । खुट्टा भाँचिएका अर्खलेबेंसीकी ७० वर्षीया फूलमाया गुरुङको लमजुङमा उपचार हुन नसकी चितवनस्थित चितवन मेडिकल कलेज लगिएको छ । श्रीचौरकी मेनका घले, अर्खलेबेंसीकी पार्वती गुरुङ, घोप्टेका दलबहादुर तामाङ, उरमाया तामाङ र नयनमाया तामाङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।